काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि हमालले भने, ‘लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपाली क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।’
लायन्सका अध्यक्ष ईश्वर जिसीले चलचित्र जगत्को ‘लायन’लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा खुसी बनेको प्रतिक्रिया दिए ।
उनले भने, ‘हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रूपमा एनपिएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडि बढिरहेका छौँ । सोही अनुरूप कप्तान, सल्लाहकार प्रशिक्षक तथा ब्रान्ड एम्बेसेडर आबद्ध गरेका छौँ ।’