काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् ।
होटल याक एण्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शोटपरको रुपमा सहभागी हुन रौटेला नेपाल आउने भएकी हुन् । तीन सिजन भव्य रुपमा सम्पन्न भइसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो ।
ट्रयु स्किन एण्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागीका लागि मोडलको आवेदन खुल्ला गरिएको छ । आयोजक प्रारम्भ प्रोडक्सनले बुधबार एक विज्ञप्ति जारी गर्दै मोडलका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।
शोमा सहभागी हुन चाहने मोडलले इसेवा एपमार्फत आवेदन फर्म भर्न सक्नेछन् । शोमा सहभागी मोडलहरुमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइट माथि हुनुपर्ने प्रावधान छ ।
शोका लागि मोडल छनौट अडिसन ९ नोभेम्बरमा होटल हिमालयनमा आयोजना हुनेछ । जसबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए ।
नेपालका उत्कृष्ट डिजाइनरहरुले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरु फेसन शोमा विभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ ।
फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको हो । फेसन शोमा व्यवसायी, कलाकार, मोडल लगायतका विभिन्न व्यक्तिहरुको सहभागीता रहनेछ ।
शोको उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।