तीन ठूला नेपाली फिल्मको भिडन्त

रंग नेपाल २०८१ असोज २३ मा प्रकाशित

काठमाडौं । यस वर्षको दशैंको फूलपाती अर्थात भोलिदेखि नेपाली चलचित्र उद्योगमा रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । तीन ठूला फिल्महरु ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’  एकैसाथ प्रदर्शनमा आउन लागेका छन् ।

सोमबारदेखि नै यी तीनै फिल्मको लागि मल्टिप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ ।

प्रारम्भिक तथ्यांकले देखाए अनुसार छक्का पञ्जा ५ ले अन्य दुई फिल्मभन्दा बढी शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस फिल्मलाई ९० शो दिएको छ । अन्य काठमाडौंस्थित र बाहिरका मल्टिप्लेक्सहरुले पनि छक्का पञ्जा ५ लाई प्राथमिकता दिएका छन् । यो फिल्मले पहिलो दिन करिब ३०० शो पाउन सक्ने अनुमान गरिएको छ ।

यस्तै,  विराज भट्ट अभिनित १२ गाउँले क्यूएफएक्स चेनमा ५३ शो पाएको छ र पहिलो दिन देशभर लगभग १५० शो पाउने अपेक्षा गरिएको छ । यस फिल्मको ट्रेलरले दर्शकहरु माझ उत्साह जगाएको छ र अग्रिम बुकिङ पनि राम्रो रहेको छ ।

यता, जितु नेपाल अभिनित ज्वाइँ साबले पहिलो दिन देशभर करिब १०० शो पाउने अनुमान गरिएको छ । क्यूएफएक्सले यस फिल्मलाई ४० शो दिएको छ ।

यसैबीच, घटस्थापनादेखि प्रदर्शनमा आएको ‘बेहुली फ्रम मेघौली’को शो संख्या फूलपातीबाट घट्ने देखिएको छ ।

यी तीन ठूला फिल्महरुको प्रतिस्पर्धाले नेपाली बक्स अफिसलाई निकै रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट