भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

रंग नेपाल २०८१ साउन १० मा प्रकाशित

काठमाडौं । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

छायांकनको क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा, सर’ राखेका छन् । निर्देशक रौनियारले चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद् यात्राको आरम्भको रूपमा व्याख्या गरेका छन् ।

‘अघिल्ला चलचित्र झै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्रारम्भ हुँदैछ। यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ’, उनले भने ।

यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’ छनोट भएको थियो ।

विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’ लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ ।

जनकपुरमा छायांकन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ । यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरूङ, नीरज श्रेष्ठ, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट