‘के घर के डेराः घर नम्बर २’मा खगेन्द्र लामिछाने अनुबन्धित

रंग नेपाल २०८१ असार ३१ मा प्रकाशित

काठमाडौं । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अनुबन्ध गरिएको छ । जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।

दीपेन्द्र के. खनालले फिल्मलाई निर्देशन गर्ने छन् । खगेन्द्र र दीपेन्द्रबीच यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘मेयर’मा सहकार्य भैसकेको छ ।

‘कर्नाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता पुस्तकका लेखक बुद्धिसागरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो ।

आगामी साउन २५ गतेबाट छायांकन सुरु हुने फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्मातामा छन् । कार्यकारी निर्माता भने युवराज कार्की हुन्।

फिल्मका लागि खगेन्द्रबाहेक अरु कलाकार फाइनल भएका छैनन् ।

ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने निश्चित भएको छ ।

सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।

यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो ।

धेरै पढिएका

पछिल्ला अपडेट