काठमाडौं । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायांकन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय चलचित्रको संख्या भने बढेको धेरै भएको छैन ।
विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायांकन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो । त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै श्रृखलासमेत आउन थालेका छन् ।
गत साता मात्र काठमाडौंमा भारतीय चलचित्र ‘मिराई’ को छायांकन भयो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक श्रृखलाको छायांकन काठमाडौंदेखि पोखरासम्म गरे । अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायांकनसमेत पोखरामा भएको थियो । यी प्रतिनिधि नाम मात्र हुन् । ससाना श्रृखला, सांगीतिक भिडियो उत्तिकै संख्यामा छायांकन भइरहेका हुन्छन् । नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरुण रेग्मीले जानकारी दिए । उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको श्रृखलासँगै फर्जी, उचाइलाई नेपाल व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायांकनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन् ।
“विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उहाँहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, प्रोडक्सन डिजाइनर रेग्मीले भने । विशेषतः विदेशबाट नेपालमा छायांकन टोली आउँदा एक सयभन्दा बढी प्राविधिक आउने गरेका छन् । उनीहरूले स्थानीयसँग सहकार्य गरेर काम गर्ने गरेका छन् ।
‘मिराई’ को नेपाल व्यस्थापन हेरेका प्रोडक्सन डिजाइनर मनोज जोशीले काम गर्न सहज भएको बताए । “उहाँहरुसँग काम गर्दा आफ्नो जिम्मेवारी लिएपछि ढुक्क हुन्छ । नेपाललाई मन पराएको भन्ने नै सुन्छु । नेपालीको स्वागत सत्कारले उहाँहरुलाई लोभ्याएको पाएको छु”, जोशीले भने । समूहमा काम गर्दा बलिउडका ठूला कलाकारले पनि सरलता प्रस्तुत गर्ने प्रोडक्सन डिजाइनर रेग्मीले बता । उनले भने, “दिग्गज कलाकारको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गथ्र्यो । कामप्रतिको लगाव तारिफ योग्य छ । हामीलाई सहज होस् भनेर कहिले ठूलो कलाकारको व्यवहार गर्नुभएन ।”
नेपाल सरकारले विदेशबाट छायांकनमा आउने चलचित्रलाई सेवासुविधा प्रदान गरे संख्या वृद्धि हुने अर्का प्रोडक्सन डिजाइनर शङ्कर पाण्डेले बताए । “विशेषत छायांकनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए संख्या बढ्नेछ । अहिले नेपाल हाम्रोभन्दा पनि उनीहरुकै कारणले आइरहेका छन्”, प्रोडक्सन डिजाइनर पाण्डेले भने । रासस