सकियो लिटल थिएटर ‘गराज’

रंग नेपाल २०८० वैशाख १२ मा प्रकाशित

काठमाडौं । बालबालिकाको नाट्य प्रस्तुति मञ्चनसहित नवौँ लिटल थिएटर ‘गराज’ सम्पन्न भएको छ । बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको हो ।

थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा दुई साता सञ्चालन भएको कार्यशालाको अन्तिम दिन अभिभावक र रङ्गप्रेमीमाझ विशेष कार्यक्रम गरिएको थियो । सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुतिमा पपेटमार्फत कथा–कथनदेखि नाटक ‘सिन्डेरेला’ मञ्चन गरेका थिए ।

बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले बताए । उनले भने, “दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन् । रङ्ग विधाको ज्ञान लिएर घर फर्किँदैछन् ।”

कलामार्फत व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्देश्यका साथ छदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि लिटल थिएटर गराज हुँदै आएको हो । गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एण्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोचलगायतका विषयमा कार्यशालामा गतिविधि भएका थिए । त्यस्तै कार्यशालाअन्तर्गत नै बालबालिकाले पैदलयात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गरेका थिए ।

थिएटर गतिविधि बढिरहे पनि बालबालिकाको लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको कार्यशाला हरेक वर्ष चैत २० गतेपछि हुने गर्दछ ।

धेरै पढिएका

पछिल्ला अपडेट