बहिनीको उपचारका लागि गीत गाउँदै हिँडेका रोशन

रंग नेपाल २०७९ माघ २७ मा प्रकाशित

काठमाडौं । तनहुँका २२ वर्षीय रोशन नेपाली काठमाडौंका विभिन्न स्थानमा गीत गाइरहेका भेटिन्छन् । मानिसहरुको बाक्लो उपस्थिति हुने पशुपति मन्दिर लगायतका स्थानमा उनी आफैँ गितार बजाउँदै मिठो गीत गाइरहेका भेटिन्छन् । उनको गीत सुनेर मानिसहरुले उनलाई सहयोग पनि गर्छन । उनी पैसा कमाउनका लागि गीत गाउँदै हिँडेका भने होइनन् ।

उनी आफ्नी १७ वर्षीया बहिनीको उपचार खर्च जुटाउनका लागि गीत गाउँदै हिँडेका हुन् । उनी पाटन अस्पतालमा उपचाररत बहिनीलाई छोडेर गीत गाउँन निस्किन्छन् र केही पैसा जम्मा हुने बित्तिकै हत्तारहत्तार औषधी किनेर बहिनीको हेरचाहको लागि फेरि अस्पताल पुगि हाल्छन् ।

उनको घरको अवस्था पनि राम्रो छैन । भएको सम्पति पनि उपचारमै सकिइसकेको छ । घरमा वृद्व बुबा मात्रै छन् । अरुसंग हात फैलाउन आत्माले नदिएकाले आफूसँग भएको गायन क्षमतालाई प्रयोग गरेर उपचार खर्च जुटाइरहेको उनी बताउँछन् ।

बिहिनीलाई निको बनाएर बहिनीको हातबाट भाइटीका लगाउने रोशनको इच्छा छ । ‘अरुसङ हात फैलाउन पनि आत्माले दिएन फेरि बहिनीको नाजुक अवस्था त्यतिकै छाड्न मनले दिएन । मैले जानेको यहि अलिअलि गुनगुनाउन हो त्यसैले बाध्यता भनौं या मेरो लाचारीपन, यो बिकल्प रोज्न बाध्य भएँ । अब आउने भाईटीकामा बहिनीको हातबाट टीका लगाउने मेरो ठूलो धोको छ,’ उनी भन्छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट