निफको जुरी प्रमुखमा प्रेमेन्द्र मजुमदार र डीन ली रान

रंग नेपाल २०७९ माघ २६ मा प्रकाशित

काठमाडौं । आउँदो चैत २ देखि ६ गतेसम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरी प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र ‘इन्टरनेशनल स्कूल अफ बेइजिङ फिल्म एकेडेमी’की डिन ली रानलाई मनोनित गरिएको छ ।

बिहीबार निफका अध्यक्ष केपी पाठकले एक विज्ञप्ती जारी गर्दै फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र र छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिनलाई मनोनित गरिएको जनाएका छन् ।

प्रेमेन्द्र भारतीय चलचित्र जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन् । फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायकोआवाजको रूपमा स्थापित गरेका छन् । चलचित्र र सामाजिक गतिशीलताको राजनीतिमा विचार–उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान रहेको छ ।

प्रेमेन्द्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताह लगायतका प्रतिष्ठित फिल्म महोत्सवहरूमा सहभागी भइसकेका लेखक हुन् । प्रेमेन्द्रले भारतमा बृहत्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात गरेका थिए, जुन भारतका ४० भन्दा बढी शहरहरूमा प्रदर्शन गरिन्छ ।

यसैगरी, इन्टरनेशनल स्कूल अफ बेइजिङ फिल्म एकेडेमीकी डीन फिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन् । उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन् । उनले चलचित्रसँग सम्बन्धित धेरै कार्यक्रमको प्रमुख आयोजकको रुपमा समेत अनुभव बटुलेकी छन् ।

डीन सन् २०१४ देखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धा इकाईको निर्देशक, ०१५ मा प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि पहिलो राष्ट्रिय चलचित्र सप्ताहको कार्यकारी निर्देशक, २०१६ र ०१८ मा सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धा विभागको निर्देशक, २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थी चलचित्र र भिडियो महोत्सवको कार्यकारी अध्यक्ष लगायतको जिम्मेवारीमा छिन् ।

यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार देखाइने आयोजकले जनाएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट