आज सोनाम ल्होछार मनाइँदै

रंग नेपाल २०७९ माघ ८ मा प्रकाशित

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन् ।

ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी बिरालो वर्ष प्रवेश हुन्छ । यो २८५९औँ सोनाम ल्होछार हो ।  मञ्जुश्री पात्रो शुरु भएको २८५९ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष हुन्छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ । आज दिउँसो टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट