कास्कीको छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’

रंग नेपाल २०७९ पुष १२ मा प्रकाशित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा २१औँ सेञ्चुरी ल्होछार मेला सुरु भएको छ । सेञ्चुरी युवा क्लबको आयोजनामा यही १४ गतेसम्म मेला सञ्चालन हुनेछ ।

मेलाका संयोजक राजकुमार गुरुङका अनुसार मेलाअन्तर्गत खेलकुद प्रतियोगिता आजदेखि सञ्चालन हुनेछन् । प्रतियोगितामा पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले रु २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले रु १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

मेलाको शुभारम्भ समारोहमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले मेलाले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउने बताए । केन्द्रीय विद्युत् प्रसारणको लाइन र फोरजी सेवालाई अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याउने उनले प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले हरेक वर्ष आयोजना हुने मेलाको गरिमा फरक रहेको बताउँदै निरन्तरता दिन आग्रह गरे । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले ल्होछार मेलाले पर्यटन प्रवद्र्धन मात्र नभई तमुहरूको कला तथा संस्कृतिको पनि जगेर्ना गर्ने बताए ।

उक्त अवसरमा पोखरा सम्पन्न फिस्टेल म्याराथनमा द्वितीय स्थान हासिल गरेका अन्नपूर्ण गाउँपालिका–११ का सचिन गुरुङलाई गाउँपालिका र क्लबको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष मिकास गुरुङ, मेला संयोजक राजकुमार गुरुङ, पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङलगायतले मेलाले यस क्षेत्रको पर्यटन र संस्कृति जर्गेनामा गर्ने योगदानको चर्चा गरे ।

धेरै पढिएका

पछिल्ला अपडेट