काठमाडौं । मदानी मुभिजको प्रस्तुति र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ । परिवर्तन आफैंबाट सुरू गरौँ समाज स्वतः बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ले नेपाली समाजको यथार्थ कथा बोल्ने बताइएको छ । चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायत कलाकारको मुख्य भूमिका छ ।
एक मिनेट ४५ सेकेन्ड लामो टिजरले वर्षौंदेखि जरो गाडेको जातीय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।