काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ ।
आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको हो ।
दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक परियारले पहिलोपटक रक मेलोडीको गीत रिमझिममा स्वर दिएका हुन् ।
‘२२ वर्षदेखि गायन क्षेत्रमा छु । पहिलोपटक रक मेलोडीमा स्वर दिएको छु । सुरुमा गर्न सक्दिनँ कि भन्ने थियो । तर, न्यायपूर्वक गाएको छु,’ गायक परियारले भने, ‘दर्शक र स्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’
अमेरिकामा रहेका सर्जक स्रष्टा अनुप पहारीको रिमझिम यादहरूमा शब्द सृजना र संगीत छ । सर्जक पहारीको शब्द र संगीतमा रक मेलोडीमा स्वर दिन चुनौती भए पनि न्याय गर्न सकेको गायक परियारको भनाइ छ ।
मनोसंवाद शैलीमा प्रेमकथामा रहेको उक्त गीतमा हरेक स्रोताले आफ्नै कथा भेट्न सक्ने उनको दाबी छ ।